कपिलवस्तु। कोरोनाको दोस्रो लहरमा भारतसँग जोडिएको सीमा क्षेत्रमा निर्माण सुरु भएको होल्डिङ सेन्टरको काम अन्तीम चरणमा पुगेको छ। यात्रुलाई लक्षित गर्दै निर्माण गरिएको होल्डिङ सेन्टरको काम अन्तिम चरणमा पुगेको हो।
नेपाली सेनाद्वारा निर्माण भएको उक्त होल्डिङ सेन्टरमा कोरोना संक्रमण नियन्त्रणका लागि भारतबाट प्रवेश गर्नेलाई सुरक्षित राखिने जनाइएको छ। कृष्णनगर नगरपालिका–१ शिवा नगरमा रहेको ४०० शय्याको होल्डिङ सेन्टर पुसभित्र सञ्चालनमा आउने निर्माण कम्पनीले बताएको छ।
भन्सार नाका नजिकै ६०० शय्या क्षमताको होल्डिङ सेन्टरको काम तीव्र गतिमा भइरहेको छ। एउटा निर्माणको काम पूरा भएको छ, अर्को होल्डिङ सेन्टर छिटो निर्माणका लागि तोकेता गरेको नगरले जनाएको छ। अहिले तत्कालै सञ्चालन गर्ने अवस्था भने छैन।
निर्माण कम्पनीका अनुसार गत असार ३ गतेदेखि सुरु गरिएको निर्माण पाँच महिनाभित्र सम्पन्न गर्ने भनिएता पनि बर्खाका कारण निर्माणमा केही ढिला भएका हो। उक्त होल्डिङ सेन्टर निर्माणका लागि २७ करोड ६७ लाख ८२ हजार ५३५ मा हनुमान कन्स्ट्रक्सन ललितपुरले जिम्मा लिएको छ।