वीरगंज। विशाल ग्रुपले बारा–पर्सा औद्योगिक करिडोरमा एक अर्ब लगानीमा जुस उद्योग खोल्ने भएको छ। समूहले पर्सा विन्दवासिनी गाउँपालिका–२ गर्दौलमा जग्गा किनेर उद्योगका लागि धमाधम पूर्वाधार निर्माण गरिरहेको हो।
उक्त उद्योगका लागि समूहले करिब ८ बिघा जग्गा किनेको छ। साउथ एसियन बेभरेज प्रालिको नामले स्थापना भइरहेको उद्योगले भारतीय ब्रान्डको जुस र मिनरल वाटर उत्पादन गर्नेछ। उक्त उद्योगले ६ महिनापछि उत्पादन थाल्ने लक्ष्यसहित पूर्वाधारको काम भइरहेको जनाइएको छ। अहिले उद्योग निर्माणमा करिब २ सय मजदुर दैनिक काम गरिरहेका छन्।
उद्योग सञ्चालनमा आएपछि पार्ले एग्रोको उत्पादनहरु फ्रूटी,एपी,एपी फिज नामक जुस र बेली ब्रान्डमा मिनरल वाटर उत्पादन गर्नेछ। उद्योग पूर्ण स्वचालित र आधुनिक प्रविधिको हुनेछ।