हेटौंडा। बागमती सरकारले स्थायी राजधानी तोकेको दुई वर्षपछि प्रादेशिक संरचना निर्माणका लागि स्थान छनोट सुरु गरेको छ। अव्यवस्थित सरकारी संरचनामा सञ्चालन हुँदै आएको बागमती सरकारका मन्त्रालय र कार्यालयका लागि व्यवस्थित संरचना तयार गर्न प्रदेशले जग्गा खोजी सुरु गरेको हो।
मुख्यमन्त्री राजेन्द्र पाण्डे, आर्थिक ममिला तथा योजना मन्त्री शालिकराम जम्मकट्टेल र भौतिक पूर्वाधारमन्त्री कृष्णलाल भडेलसहितको टोलीले हेटौंडा उपमहानगर क्षेत्रका विभिन्न ठाउँको स्थलगत निरीक्षण गरेको छ।
जग्गा छनोट टोलीका अनुसार मन्त्रालय र संसद् भवन एकै ठाउँ बनाउने गरी जग्गा खोजिएको छ। मुख्यमन्त्री पाण्डेले सरकारले प्रदेशको स्थायी संरचना बनाउनेतिर ध्यान दिएको बताए।