काठमाडौं। प्रदेश नं २ सरकारले ६१० गरिब विपन्न परिवारको घर निर्माण गरिदिने भएको छ। प्रदेश नं २ सरकारले महेन्द्रनारायण निधि विपन्न आवास योजनाअन्तर्गत विपन्न परिवारलाई घर निर्माण गरिदिने भएको हो।
प्रदेश नं २ सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। बैठकले महेन्द्रनारायण निधि विपन्न आवास योजना कार्यान्वयन कार्यविधि, २०७८ र दलित सशक्तीकरण नियमावली, २०७८ स्वीकृत गरेसँगै प्रदेशका गरिब तथा विपन्न परिवारले घर पाउने भएका छन्।
असहाय तथा विपन्न, एकल महिला, विपन्न परिवार, दलित, लोपोन्मुख, सीमान्तकृत जाति, अनाथ बालबालिका, अशक्त वृद्धवृद्धालाई प्राथमिकताका आधारमा आवासको व्यवस्था गरिने जनाइएको छ। यस आवास योजनाअन्तर्गत बन्ने घर रु पाँच लाखमा प्लाष्टरसहितको छाना भएको दुई कोठा, एक भान्छा र एक शौचालयको पनी व्यवस्था रहने भएको छ।