काठमाण्डौं। नेपालगञ्जमा स्थापना गरिएको वायुयान सङ्ग्रहालय (एयरक्राफ्ट म्युजियम) आजबाट औपचारिकरुपमा सञ्चालनमा ल्याइएको छ। एक दशकदेखि सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा वैकल्पिक गन्तव्यका रुपमा आकर्षण बनिरहेको वायुयान सङ्ग्रहालय नेपालगञ्जमा स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको हो।
नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिको पहलमा सङ्ग्रहालय नेपालगञ्जमा ल्याएर सञ्चालन गरिएको हो।नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित बेलासपुरमा राखिएको उक्त सङ्ग्रहालय विशेषत विद्यार्थीका लागि अध्ययनस्थल बन्ने आशा गरिएको छ।
नेपालगञ्ज उपमहानगरपालिका– १२ सँग १० वर्षका लागि सम्झौता गरेर चिल्ड्रेन पार्कको सुन्दरता र आकर्षण बढाउने अवधारणासहित सङ्ग्रहालय राखिएको छ। स्थानीयलाई रोजगारी र आन्तरिक गन्तव्यको नयाँ स्थान निर्माणका लागि एभियसन म्युजियम प्रभावकारी हुने ठानेर नेपालगञ्ज ल्याउन पहल गरिएको नेपालगञ्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए।