उदयपुर। शिल्यान्यास विवादले उदयपुर सदरमुकामको एउटा विद्यालय भवन निर्माण अवरुद्ध भएको छ। त्रियुगा नगरपालिका १० बोक्सेस्थित बालमन्दिर माध्यामिक विद्यालयका लागि बन्न लागेको सुविधा सम्पन्न भवन शिल्यान्यास गर्ने नेता टुंगो नलाग्दा निर्माण सुरु हुन नसकेको हो।
कुन नेताबाट शिल्यान्यास गराउने भन्ने विषयमा विवाद चुलिएपछि भवन निर्माण कार्य ४ महिना बितिसक्दा पनि सुरु भएको छैन। भारतीय सरकारको सहयोगमा चालू आर्थिक वर्ष सुर गरेर १५ महिनाभित्र निर्माण सक्ने गरी गत असोजमै त्रियुगा नगरपालिकाले ठेक्का लगाएको थियो। तर, ठेक्का लागेको यतिका दिनसम्म पनि शिल्यान्यास गराउने नेताको विषय निश्चित नहुँदा निर्माणमा अवरोध हुन पुगेको छ।
स्थानीयबासीका अनुसार बालमन्दिर परिसरको जग्गामा बन्न लागेको विद्यालय भवन शिल्यान्यास कार्य राष्ट्रपति विद्या भण्डारीबाट गराउनुपर्ने माग नेपाल बाल संगठनले गरेको छ।
माघको पहिलो साताभित्रै भवन शिलान्यास गरेर समयमै भवन निर्माण गर्ने योजना रहेकोमा शिल्यान्यासको विषयले केही अन्योल बनाएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ।