दमौली। तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुर इको ट्रेकमा सिँढी निर्माण गरिएको छ। पदयात्रा गर्दै तनहुँसुर पुग्ने पदयात्रीको सजिलोका लागि उक्त ट्रेकमा सिँढी निर्माण गरिएको हो।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सिँढी निर्माण सुरु गरिएको नगरपालिकाले जनाएको छ। वडाका बेरोजगारलाई न्यूनतम १०० दिनको रोजगारी दिने उद्देश्यसहित दश जनाले यो कामका लागि रोजगारी पाएका छन्।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सिँढी निर्माणका लागि यो वर्ष पाँच लाख बजेट विनियोजन गरिएको थियो। उक्त बजेटबाट ३२० मिटर सिँढी निर्माण गरिनेछ।
सिँढी निर्माणसँगै पदयात्रा गर्नेलाई सहज रूपमा तनहुँसुरसम्म पुग्न सजिलो हुन्छ हुने भएको छ। मूलपानीदेखि तनहुँसुरसम्म ६.५ किलोमिटरको उक्त टे«क समुद्र सतहबाट पाँच सय मिटरको उचाइबाट शुरू हुने र एक हजार दुई सय ५० मिटरको उचाइमा समाप्त हुनेछ।
पृथ्वीराजमार्गमा पर्ने घाँसीकुवादेखि मूलपानीसम्म करिब चार किमी मोटरयात्रा, त्यसपछि चमेरेगुफा–भगवतीपानी मन्दिर–तनहुँसुर देवस्थल सामुदायिक घरवास हुँदै तनहुँसुर गढीसम्म पदयात्रा गर्न सकिनेछ।
उक्त मार्गमा पर्ने चमेरो गुफा एवं गुप्तेश्वर महादेव, भगवतीपानी लगायत धार्मिक सम्पदाहरूलाई प्रकृतिसँग जोड्ने वनस्पति, हावापानी वन्यजन्तु र चराचुरुंगी लगायत विविधतालाई संरक्षण गर्दै स्थानीयको आयआर्जनमा टेवा पुर्याउनु यस इको ट्रेकको प्रमुख उद्देश्य रहेको बताइएको छ।