बैतडी । बैतडीको च्वाँगढ क्षेत्रमा बिजुली विस्तारका लागि लगाइएका विजुलीका पोल वर्षैपिच्छे ढल्न थालेका छन् । दलका नेता–कार्यकर्ताको निर्माण समितिले गाडेका बिजुलीका पोल वर्षैपिच्छे ढल्न थालेको हो ।
च्वँगढ क्षेत्रमा विद्युत विस्तार गर्न सिगास गाउँपालिकाले मात्र एक करोड रुपियाँ खर्च गरिसकेको वडा नम्बर १ का अध्यक्ष गगनसिंह धामीले बताए। सिगास गाउँपालिकाको १ र २ हुँदै गाउँपालिका केन्द्रसम्म बिजुली बिस्तार गर्न तीन आर्थिक वर्षमा करोड जति खर्च भइसकेको छ तर निर्माण समितिले गाडेका बिजुलीका पोल वर्षेनी ढलेपछि तार पनि चुडीएर लथालिङ्ग भएको उनको भनाइ छ । पोल ढल्नथालेपछि बैतडीको च्वाँगढ क्षेत्रका ३० हजार बासिन्दाको बिजुली बाल्ने धोको अधुरै रहेको छ ।
च्वाँगढ क्षेत्रमा विद्युत विस्तार गर्न गत तीन आर्थिक वर्षमा दलीय समितिले गुणस्तरहीन काम गर्दा बिजुली बल्न नकसको वडा अध्यक्ष धामीले बताए । बिजुलीबाट वञ्चित रहेको सिगास गाउँपालिकामा विद्युतिकरण गर्न गाउँपालिकाले राम्रै बजेट बिनियोजित गरेपनि उपभोक्ताको कमजोरीका कारण समयमै बत्ती बाल्न नसकिएको हो । यस वर्ष सिगास गाउँपालिका १ र २ मा विद्युत पहुँच बढाउन ३० लाख रुपैयाँको टेण्डर आह्वान भएको बताइएको छ ।
गाउँपालिका र विद्युत वितरण केन्द्रले एउटै ठाउँमा काम गर्दा पनि तीन वर्षदेखि बिजुलीका पोल ढल्ने गरेको विषयमा विद्युत वितरण केन्द्र बैतडीका प्रमुख नै आफू बेखबर भएको बताउँछन् ।
गाउँपालिकाबाट छुट्याएको रकममा दलका नेताको निर्माण समिति बन्दा बिजुली बल्न नसकेको स्थानीयको समेत आरोप छ । दलको नेता तथा कार्यकर्ताबाट उपभोक्ता समिति बनेपछि उनीहरुले देखावटी रुपमा मात्र काम सकेको स्थानीयको गुनासो छ ।