काठमाडौं। बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु गरिएको छ। मानवसेवा आश्रम भवन नजिकै सुविधा सम्पन्न वृद्धाश्रमको निर्माण सुरु गरिएको हो।
उक्त वृद्धाश्रमको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिलान्यास गरेका छन्। रु दुई करोड ५७ लाख ९० हजारमा आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग ठेक्का सम्झौता गरिएको उक्त भवनको पिल्लार राख्ने काम भइरहेको छ।
सो वृद्धाश्रम निर्माण गर्ने योजना चार वर्षअघि नै गरिए पनि अहिले आएर बजेट विनियोजन भएकाले निर्माण कार्यसमेत सुरु गरिएको जनाइएको छ। घरमा बस्ने वातावरण नभएका, हेला होचामा परेका र संरक्षणको अभाव भएकालाई संरक्षण दिने, ध्यान तथा योग सिकाउने र खुसी जीवनयापन गर्न सिकाउने मूल उद्देश्यले वृद्धाश्रम बनाउन सुरु गरिएको हो।
भूकम्प प्रतिरोधी, अपाङ्गमैत्री र सबै सेवा सुविधा एकैतलामा हुनेगरी भवनको निर्माण सुरु भइसकेको र असार मसान्तसम्म एक तला भवन तयार हुँने भएको छ।
निरयघाटमा रहेको जङ्गेश्वर महादेव लक्ष्मीनारायाण गुठीको पाँच रोपनी जग्गामा भवन निर्माण गर्न सुरु गरिएको हो। असार मसान्तसम्म सम्झौताबमोजिम भवन तयार गरेर वृद्धाश्रम सञ्चालनका लागि हस्तान्तरण गरिने निर्माण कम्पनीले बताएको छ।