काठमाण्डौं। काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन्। यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन्।
रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ। कैसील बस्नेत–कामख्य–भगवती जेभीले निर्माण ठेक्का पाएको भवन निर्माणका लागि विसं २०७८ मङ्सिर २८ गते सम्झौता गरी आगामी २०८१ जेठ ३२ सम्पन्न गर्नुपर्नेछ। भवनको गाउँपालिका अध्यक्ष दलबहादुर लामाले सोमबार शिलान्यास गरेका हुन्।
यसैगरी उता डाँडापारिस्थित महाभारत गाउँपालिकाले पनि आफ्नै पक्की प्रशासनिक भवन निर्माणका लागि प्रक्रिया अगाडि बढाएको छ।
पछिल्लो समयमा बजेट व्यवस्थापन भएपछि देवीटारमा साढे चार तलाको पक्की भवन निर्माण हुने भएको छ। पालिका अध्यक्ष कान्छालाल जिम्बाले प्रशासनिक भवनको शिलान्यास गरेका थिए। कूल छ करोड १० लाख ४३ हजारमा निर्माण सम्झौता भएको भवन आगामी आव २०८०।८१ सम्ममा निर्माणसम्पन्न गर्ने गरी काम अगाडि बढेको बताइएको छ।