काठमाडौं। दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जामुनेमा १० शय्याको अस्पताल निर्माण गरिने भएको छ। संघीय सरकारको लगानीमा १५ करोड लागतमा अस्पताल भवन निर्माण गर्न लागिएको हो।
उक्त गाउँपालिकाको वडा नम्बर ४ को मालु, जामुनेमा अस्पताल निर्माणका लागि केन्द्र सरकारबाट टेन्डर स्वीकृत भइसकेको र अब चाँडै निर्माण सुरु गरिने गाउँपालिकाले जनाएको छ। उक्त अस्पताल निर्माणका लागि वडा नं ४ का स्थानीय बासिन्दाले ९ रोपनी जग्गा दान दिएका छन्।
पालिकाको स्रोतसाधनले भ्याएसम्म नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा पुर्यागइरहेको तामाकोशी गाउँपालिकामा अस्पताल सञ्चालन भएपछि थप सहज हुने विश्वास गरिएको छ। सात वडा रहेको गाउँपालिकामा अहिले आठओटा बर्थिङ सेन्टर सञ्चालनमा छन्। सातओटै वडामा स्वास्थ्य चौकीले सेवा दिइरहेका छन्।