काठमाण्डौं। डोटी जिल्लाको बडीकेदार गाउँपालिकामा ठेकेदारको लापरबाहीको कारण विद्युत विस्तारमा समस्या भएको छ। गाउँपालिकाको वडा नं १ बिपीनगरस्थित कापडी गाडमा विद्युत् गृह निर्माण गरिए पनि अहिलेसम्म गाउँपालिकाका सबै वडामा विद्युत् विस्तार गर्न नसकिएकोले विद्युतको समस्या भएको हो।
बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ। अहिलेसम्म विद्युत् विस्तारको काम नहुँदा समस्या भएको स्थानीयले बताए। बिपीनगर बजारबाट गाउँपालिकासम्म विद्युत् विस्तारका लागि प्रधिकरणको दिपायल वितरण केन्द्रले बोलपत्र आह्वान गरेको थियो।
कापडी गाडबाट निकालिएको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। सो पालिकामा विद्युत् विस्तारका लागि भगवती कन्सट्रक्सन दिपायलले पोल र तार तान्ने ठेक्का पाएको थियो। अहिलेसम्म कामको सुरुआत हुन सकेको छैन। विद्युत् विस्तारको जिम्मा पाएको कम्पनीले भने समयमै विद्युत् प्राधिकरणबाट सामान नपाउँदा काममा ढिलाइ भएको जनाएको छ।
कम्पनीले केही ठाउँमा पोल गाढेको भए पनि हाल ति ढलेको अवस्थामा रहेका स्थानीय बताए।