काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरस्थित सालघारी क्षेत्रमा हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ। नेपाली सेनामार्फत् होल्डिङ सेन्टर निर्माणको ठेक्का पाएको हनुमान कन्ट्रक्सन प्रालिले सेन्टरको निमार्णको कार्य अन्तिम चरणमा पुगेको हो।
गत वैशाख महिनामा नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयबमोजिम नेपाली सेनाले निर्माण गर्ने भनिएको सालधारी क्षेत्रमा १ हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको हो। अहिले बेड फिटिङगर्ने काम भइरहेको छ। कम्पनीले विद्युत होल्डिङ सेन्टरमा विद्युत आपूर्तीको लागि ट्रान्समिटर राख्ने काम पनि सम्पन्न गरेको छ।
२९ करोडमा होल्डिङ सेन्टरको ठेक्का पाएको निर्माण कम्पनीले करिब साढे पन्ध्र करोड रुपैँया भुक्तानी लिएको अवस्था छ। तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको स्थायी होल्डिङ सेन्टरको २२ वटा अलग–अलग ब्लग छन्। निर्माण भएका सबै ब्लगमा बाथरुम, भान्सा, डाइनिङ रुमलगायतको महत्वपूर्ण सेवासुविधासहित होल्डिङ सेन्टर निर्माण भएको छ।
पुस मसान्तसम्म निर्माणको काम सम्पन्न गर्नुपर्ने होल्डिङ सेन्टरको भुक्तानीका कारण ढिलाई भएको ठेकेदार कम्पनीले जनाएको छ।होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम चरणमा भएपनि यसलाई कसले कसरी सञ्चालन र व्यवस्थापन गर्ने भन्ने विषयमा भने अन्यौलता रहेको छ।
भारतसँग खुल्ला सिमाना भएको जिल्ला प्रत्येक दिन सयौंको संख्यामा नेपाली स्वदेश फर्कने क्रम पनि बढ्दै गएको छ। होल्डिङ सेन्टर निर्माणपछि भने जिल्लामा बढिरहेको कोभिड संक्रमणलाई नियन्त्रण गर्न केही सहज तथा सहयोग पुग्ने विश्वास लिइएको छ।