काठमाडौं। खोटाङको ६.६ मेगावाट क्षमताको साप्सु खोला जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जोडिएको छ। साप्सु खोलाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको ३३ केभी जलजले–बुइपा प्रसारण लाईनमार्फत नेशनल ग्रिडमा जोडिएको हो।
थ्रिस्टार हाइड्रो पावर कम्पनी लिमिटेडले करिब १ अर्व ५० करोड खर्चमा दुई वर्षमा अर्धजलाशययुक्त साप्सु खोला जलविद्युत आयोजनाको काम पुरा गरेको हो। आयोजनामा हिमालयन बैंक र राष्ट्रिय बाणिज्य बैंकले ६५ प्रतिशत ऋण तथा डेभलपर (सञ्चालक)को ३५ प्रतिशत स्वपूजी लगानी छ।
वर्षा याममा ६.६ मेगावाट विद्युत उत्पादन भए पनि हिउँदको समयमा खोलामा पानी घट्दा उत्पादन क्षमता घट्ने भएकाले हिउँदमा पिकआवर मा पूर्ण क्षमताकै विद्युत आपूर्तीका लागि रिजर्भ निर्माण गरिएको छ। दुई वर्षसम्म साप्सु खोला जलविद्युत आयोजनाको काम सञ्चालन हुँदा सयौं स्थानीयले रोजगार पाएका छन्।