काभ्रेपलाञ्चोक। पाँचखालमा दनुवार (डोने) समुदायको राष्ट्रिय सङ्ग्रहालय भवन निर्माण गरिएको छ। ४ नम्बर वडामा निर्मित दुईतले उक्त भवन सीमान्तकृत वर्गको पहिचान बोकेको डोने समुदायको केन्द्रीय कार्यालयको रुपमा रहने भएको हो।
भवन निर्माणका लागि पाँचखाल नगरले रु ५५ लाख उपलब्ध गराएको थियो। भवनका लागि वडाध्यक्ष सुन्दर तामाङले जमिन उपलब्ध गराएका थिए। नगर प्रमुख महेश खरेलले डोने समुदायको हित, संस्कृति जगेर्ना तथा भाषाको संरक्षणका लागि नगरले भवन निर्माणार्थ सहयोग गरेको बताए।
मुलुकभरका डोने समुदायको पहिचान र संस्कृति जगेर्नाका लागि पाँचखाल नगरले निरन्तर सहयोग गर्ने भएको छ। यसअघि काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरले डोने भाषामा पाठ्यपुस्तक तयार गरी डेडीथुम्का माध्यमिक विद्यालय र भीमसेन आधारभूत विद्यालयमा अध्यापन सुरु गरिसकेको छ।