काठमाडौं। कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवास गृह’ निर्माणको योजना कार्य अघि बढाएको छ। राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवास गृह निर्माणको योजना बनाएको हो।
आवास गृह निर्माणका लागि चालु आव २०७८।७९ मा प्रदेश सरकारले रु पाँच करोड बजेट विनियोजन गरेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए।
अतिथि आवास गृहको निर्माण वीरेन्द्रनगर नगरपालिकामार्फत अघि बढ्ने छ’, मुख्यमन्त्री शाहीले भने, ‘आवास गृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्नेछ।’
अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नं ६ सुर्खेतस्थित जग्गा छनोट गरेको छ।