पर्वत । कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा निर्माण सम्पन्न भएको सिँंचाइ आयोजना दुई वर्ष नहुँदै काम नदिने भएको छ ।
ठूलीपोखरीका बुमी र टारमा रहेको खेतबारीमा सिँंचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको बूढीखोला–तिजुखोला सिँंचाइ आयोजना असफल भएको हो ।
गण्डकी प्रदेशको भौतीक पूर्वाधार मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँंचाइ विकास डिभिजन कार्यालयबाट आर्थिक वर्ष २०७५/०७६ मा निर्माण भएको सिँंचाइ नहर गलत डिजाइनका कारण असफल बनेको स्थानीको गुनासो छ ।
सिँंचाइ नहरको मुहानबाट खेतबारीसम्म पानी पास नभएपछि आयोजना प्रयोगविहीन बनेको स्थानीय बताउँछन् । यो आयोजन एक करोड ८२ लाख रुपैयाँको लागतमा पर्वतमाला कन्ट्रक्सन प्रालिले निर्माण गरेको हो । आयोजनाको झण्डै दुई किलोमिटर नहरमध्ये बीच भागमा निर्माण गरिएको ट्यांकीबाट खेततर्फको भागमा पानी चढ्न छोडेको छ।
ट्यांकीभन्दा नहर उच्च भागबाट खनिएका कारण सिँंचाइ गर्ने खेतसम्म पानी आउन नसकेको कृषकहरूको गुनासो छ । त्यस्तै अन्य ठाउँमा पनि नहर भत्किने, चुहिने, पाइप बिच्छ्याइएका ठाउँमा पाइप बगाउने र बुझिने समस्या पनि छन् ।