काठमाडौं। सरकारले १ अर्ब ३ करोड रुपैयाँको लागतमा ललितपुरको भैंसेपाटीमा २७ वटा मन्त्री क्वार्टर निर्माण गरिरहेको छ। सरकारले आम नागरिकको आलोचनाबीच पनी मोटो रकममा मन्त्री क्वार्टर निर्माण गरिरहेको हो।
मन्त्री क्वार्टरको सजावटमा मात्र करिब २४ करोड रुपैयाँ खर्चिने तयारी गरेको छ।
१ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिएर आवास बनाइरहेको विशेष भवन निर्माण परियोजनाले ती भवनको आन्तरिक सजावटमा मात्र करिब २४ करोड रुपैयाँ थप खर्च गर्ने भएको हो। आगामी दसैंसम्म नयाँ आवासमा मन्त्रीलाई सार्ने योजना बनाएको परियोजनाले आन्तरिक सजावटमा मोटो रकम खर्चन लागेको हो।
निर्माणाधीन मन्त्री क्वार्टरकोे ‘इन्टेरियर डिजाइन’देखि अन्य सजावटका सामग्री खरिदका लागि २४ करोड रुपैयाँको बजेट बनाएको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले जनाएको छ। २४ करोडमा इन्टेरियर डिजाइनदेखि मन्त्री क्वार्टरका फर्निचर, बेड, मिटिङ हलका कुर्चीदेखि पर्दा, किचन सामग्रीलगायत रहेको जनाइएको छ।
पहिलो चरणमा १ अर्ब ३ करोडको सम्झौता भएर काम अघि बढिरहेको छ। दोस्रो चरणमा करिब ३४ करोड ७७ लाख रुपैयाँको लगानीमा सुरक्षा भवन, हेल्थ क्लब, स्विमिङ पुल बनाउन सम्झौता गर्ने तयारी छ। तेस्रो चरणमा आन्तरिक सजावटका लागि २४ करोडको बजेट बनाएको हो।