जनकपुरधाम। मधेस प्रदेशको राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा शहीदगेटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। जनकपुरधाम उपमहानगरपालिकाको लगभग तीन करोड रुपियाँ लगानीमा शहीद गेट निर्माण हुन लागेको हो।
ढल्केवर–जनकपुर राजमार्गको ६ लेन सडकको मुजेलियामा धनुष आकारमा निर्माण हुन लागेको मधेश शहीदगेटमा रङ लगाउने, भगवान राम र शहीदको प्रतीमा स्थापना गर्नु बाहेक अन्य कार्यहरु सम्पन्न भइसकेको छ।
जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २० असार २०७७ बाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्त्ररण गर्नुपर्ने सम्झौता रहेकोमा निर्माणकार्य सम्पन्न गरी नगरपालिकालाई हस्तान्त्ररण गर्नेगरी तयारी भईरहेको ठेकेदार कम्पनीले बताएको छ।
उक्त गेटको माथिल्लो भागमा १४ फिटको भगवान श्री रामको प्रतिमा र तीन वटा पिलरमाथि शहीद निक्कु यादव, सन्जय चौधरी र दिलीप यादवको प्रतिमा राखिने बताइएको छ। त्यसैगरी, गेटको दुबै किनारमा मधेश आन्दोलनमा शहीद भएकाहरुको चित्र राखिनेछ।