भैरहवा। बुद्ध जन्मस्थल लुम्बिनीमा सभा सम्मेलन र ध्यान गर्न अब समस्या नहुने भएको छ। पाँच हजार मानिस अट्न सक्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
लुम्बिनी विकास कोषले आगामी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त सभाहल र ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको हो। लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि २०७५ वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सम्मेलन केन्द्रको शिलान्यास गरिएको थियो।
अनक–अर्घाखाँची–बाबुल जेभी सिद्धार्थनगरले उक्त सभाहल र ध्यान केन्द्र निर्माणको ठेक्का लिएको थियो। सभाहल चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ। २०७३ साल जेठ ८ गते २५६०औँ बुद्ध जयन्ती मनाइरहँदा हावाहुरी र वर्षाले बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीमा पाँच हजार क्षमताको सम्मेलन केन्द्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसको दुई वर्षपछि सम्मेलन केन्द्र तथा ध्यान केन्द्रको शिलान्यास गरिएको थियो।
दुई वर्षभित्रै सभागृह निर्माण गर्ने भनिए पनि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा नै दुई वर्ष बितेको थियो। ३८६.८८ वर्ग मिटर यो सम्मेलन केन्द्रको डिजाइन दक्षिण एसियामै नमुना भएको कोषको दाबी छ।