काठमाडौं। पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग भएको सम्झौता मंगलबार खारेज हुने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले छानबिन समितिले सिफारिस गरेअनुसार उक्त सम्झौता मंगलबार खारेज हुने जानकारी दिएका हुन् ।
मंगलबार पशुपति क्षेत्र विकासको बैठक बस्ने र सोही बैठकले बताससँगको सम्झौता खारेजी गर्ने बताइएको छ।
यसअघि बतासले पशुपति धर्मशालामा सञ्चालन गरेको होटलको मन्त्री आलेले पनि निरीक्षण गरेका थिए । उनले धर्मशाला धर्मशालाजस्तो नभएर पाँचतारे होटलजस्तो भएको प्रतिक्रिया दिएका थिए । छानबिन समितिले मन्त्री आलेलाई हस्तान्तरण गरेको प्रतिवेदनमा सम्झौता खारेज गर्न सुझाएको थियो । सोहीअनुसार मन्त्री आलेले बतासँगको उक्त सम्झौता खारेजीको लागि क्षेत्र विकास कोषलाई निर्देशन दिईसकेका छन् ।
समितिले सम्झौता गैरकानुनी भएको समेत दाबी गरेको छ। पछिल्लो समय विवादमा आएको बतास समूहले ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालय परिसरमा डान्सबार सहितको रेस्टुरेन्ट खोल्न लागेको यसअघिको प्रतिवेदनले देखाइसकेको छ।