भक्तपुर। कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले सर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको छ। आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचार गर्न २५ शय्याको सूर्यविनायक नगर अस्पताल सञ्चालनमा ल्याउने भएको हो।
अक्सिजन प्लान्टसहित सञ्चालन गर्ने अस्पतालका लागि पाँचवटा भवनलगायतका आवश्यक पूर्वाधार निर्माण सम्पन्न भएकाले नगरपालिका अब अ स्पताल सञ्चालनको तयारीमा लागेको सूर्यविनायक नगरपालिकाले जनाएको छ।
अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ जगाती चोकस्थित भक्तपुर इँटा तथा टायल कारखानाले प्रयोग गर्दै आएको नेपाल सरकारको २५ रोपनी क्षेत्रफलमा अस्पताल सञ्चालनका लागि भवन निर्माणलगायतका पूर्वाधार निर्माण सम्पन्न गरेको हो।
नगरपालिकाले अस्पताल सञ्चालनसँगै बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्दै चुस्त व्यवस्थापनका लागि केही महिना अगाडि मात्रै टेकु अस्पतालबाट अवकाशप्राप्त विशेषज्ञ डा सागर राजभण्डारीलाई अस्पतालको निर्देशकका रूपमा नियुक्ति दिएर अस्पतालमा काम सुरु गरिसकेका छन्।
अस्पतालको प्रशासनिक भवन, आकस्मिक कक्ष, आइसीयू तथा भेन्टिलेटर कक्ष, एचडीयू, ओपिडी, जनरल वार्डलगायतका संरचना निर्माण सम्पन्न भएर अस्पतालको कम्पाउण्डभित्र कालोपत्र गर्ने तयारी भइरहेको छ। करिब रु आठ करोडको लागतमा अस्पताल सञ्चालनमा आउन लागेको हो।