डोटी। खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले जग्गा खरीद गरी विश्वविद्यालयलाई हस्तान्तरण गरेको छ ।
त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान अन्तरगत खप्तड इन्जिनियरिङ क्याम्पस सञ्चालनका लागि दिपायल सिलगढी नगरपालिकाले एक सय २० रोपनी जग्गा हस्तान्तरण गरेको हो।
विश्वविद्यालयले क्याम्पसका लागि स्थानीय तहले जग्गा उपलब्ध गराउनु पर्ने भनेपछि दिपायल सिलगढी नगरपालिकाले जग्गा खरीद गरेर हस्तान्तरण गरेको हो।
नगर प्रमुख मन्जु मलासीले अब क्याम्पसको भौतिक पूर्वाधार निर्माणको कार्य औपचारिक रुपमा अगाडि बढेको जानकारी दिइन्। स्थानीयवासीसग जग्गा खरीद गरी खप्तड इन्जिनियरिङ क्याम्पसका नाममा नामसारी समेत भइसकेको नगर प्रमुख मलासीले बताइन् ।अब उक्त जग्गासम्म जाने सडक, खानेपानी र विद्युतका लागि नगरपालिकाले लगानी गर्ने उनको भनाइ छ।
क्याम्पसको जग्गाको जग्गाधनी प्रमाणपूर्जा बुझ्दै त्रिभुवन विश्वविद्यालयका प्रतिनिधि तथा डोटी बहुमुखी क्याम्पसका प्रमुख डिलानन्द जोशीले विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना हुन लागेको बताए ।