सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेश मुकाम सुर्खेतमा ‘कर्णाली नागरिक अतिथि आवासगृह’ निर्माणको योजना अघि बढाएको छ। कर्णालीको विकटता र यहाँका नागरिकको स्वास्थ्योपचारमा सघाउ पु¥याउने उद्देश्यले आवासगृह निर्माण गर्न सुरु गरिएको हो।
राजधानी सुर्खेत उपत्यका बाहिरबाट उपचार गर्न आउने कर्णालीका नागरिकका लागि सस्तो र सहज बासका लागि सरकारले अतिथि आवासगृह निर्माण गर्न लागेको हो। उक्त आवास निर्माणका लागि चालू आवमा प्रदेश सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
आवासगृह निर्माण भए विशेषगरी राजधानी सुर्खेत बाहिरबाट आउने नागरिकलाई आर्थिक व्ययभार कम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। अतिथि गृह निर्माणका लागि वीरेन्द्रनगर नगरपालिकाले वडा नम्बर ६ सुर्खेतमा जग्गा छनोट गरेको छ।