बाजुरा। बाजुरा सदरमुकाम मार्तडीमा नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारणको लाइन जोडिएको छ। दैनिक ६ देखि १० घण्टा लोडसेडिङ खेप्दै आएको मार्तडीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिएको हो।
नागरिक समाजले गरेको आन्दोलन र कार्यालयमा तालबन्दी गरेपछि सदरमुकाममा राष्ट्रिय प्रसारण लाइन जडान गरिएको हो। मार्तडी बजारसहित आसपासका क्षेत्र समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको नेपाल विद्युत प्राधिकण वितरण केन्द्र बाजुराले जनाएको छ। ७ माघदेखि जडान सुरु गरिएको लाइन १० माघ साँझबाट नियमित विद्युत दिन थालेको हो।
२०४६ सालमा स्थापना भएको बाजुरा साना जलविद्युत केन्द्र २०६६ सालबाट त्रिवेणी सहकारीले २० वर्षका लागि लिज सम्झौता गरेर संचालन गर्दै आएको थियो । दुई सय किलोवाट उत्पादन क्षमताको विद्युतले मार्तडीमा लोड धान्न नसकेपछि त्रिवेणीले दैनिकजसो लोडसेडिङ गर्दै आएको थियो ।
मण्डलका अनुसार मार्तडीलाई लक्षित गरेर सोमबारबाट पहिलो पटक ११ हजार भोल्टेजको लाइन जडान गरिएको छ ।राष्ट्रिय प्रसारण लाइनको विद्युत जोडिएपछि स्थानीयबासी खुशी भएका छन्।