काठमाडौं। रोल्पामा दुई ओटा कोल्ड स्टोर निर्माणको काम अन्तिम चरणमा पुगेको छ। लुम्बिनी प्रदेश सरकारको लगानीमा निर्माण कोल्ड स्टोरको निर्माण भइरहेको हो।
रोल्पाको त्रिवेणी र रुन्टिगढीका लागि त्रिवेणी गाउँपालिका–२ दहबन र फलफूलको पकेट क्षेत्र जिनाबाङका लागि गंगादेव गाउँपालिका–३ मनिमारेमा कोल्ड स्टोर निर्माण भइरहेको छ। ९५ प्रतिशत काम सम्पन्न भएको दुबै कोल्ड स्टोर अबको केही सातामै सञ्चालनमा आउने बताइएको छ।
प्रदेश सरकारको साढे ५ करोड लागतमा निर्माण भइरहेको दहबनस्थित कोल्ड स्टोरको क्षमता ५०० मेट्रिक टन रहेको छ भने साढे २ करोड लागत रहेको जिनाबाङमा निर्माण भइरहेको कोल्ड स्टोरको क्षमता २०० मेट्रिक टन रहेको छ।
यस क्षेत्रमा उत्पादन हुने तरकारीलाई बेमौसममा विक्री गर्न सकिने भएपछि आफूहरु हर्षित भएको स्थानीयले बताए। यस्तै स्याउ, किबी र आलुको उत्पादनमा फरक पहिचान बनाएको रोल्पाको जिनाबाङका किसानले पनि राहत महसुश गरेका छन्।