काठमाडौं। कञ्चनपुरको बेदकोट नगरपालिका २ छेलामा औद्योगिक क्षेत्र निर्माणमा ढिलाई भएको छ। स्थापनाका लागि शिलान्यास भएको एक वर्ष पुग्दा पनी निर्माणमा प्रगति हुन नसकेको हो।
एक वर्षको अवधिमा उक्त क्षेत्रका रूखहरूको गणनासमेत सकिएको छैन। उक्त औधोगिक क्षेत्रको गत वर्ष फागुनमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेका थिए। शिलान्यासका क्रममा तत्काल काम सुरु भएर ५ वर्षमा औद्योगिक क्षेत्र स्थापना भइसक्ने उनले दाबी गरेका थिए।
औद्योगिक क्षेत्र स्थापनाका लागि दुई वर्षअघि गरिएको विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मूल्यांकनमा २५ हजार ९ सय ६८ रूख काटनुपर्ने देखिएको छ। तर दुई वर्षपछि अहिले रूखहरूको संख्या बढी हुन सक्ने बताइएको छ।
शिलान्यास भए पनि अहिलेसम्म औद्योगिक क्षेत्रले भोगाधिकार पाएको छैन, स्थानीयका अनुसार डिभिजन वन कार्यालयले कटान हुने रूखमा टाँचा लगाएर वन मन्त्रालयबाट कटान आदेश आएपछि मात्रै रूख काटिने छन् र त्यसपछि भौतिक पूर्वाधार निर्माणको काम अगाडि बढ्नेछ।
पहिलो चरणमा सडक, नाली र भौतिक संरचना निर्माण हुने क्षेत्रमा मात्रै रूख काटिने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले जनाएको छ। बेदकोट नगरपालिका-२ को जनचेतना सामुदायिक वन र वडा नं. ३ को बेदकोट सामुदायिक वनको साढे ४ सय विघा जमिनमा औद्योगिक क्षेत्र स्थापना हुनेछ। उक्त क्षेत्रमा साना, मझौला र ठूला गरी १ सय २४ उद्योग स्थापना गर्न सकिनेछ।