सर्लाही। मधेश प्रदेश केन्द्रित ग्राउन्डवाटर सिंचाई आयोजनाको पाईलट प्रोजेक्टको काम लगभग सकिएको छ। २५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको प्रस्तावित ग्राउन्डवाटर सिंचाई आयोजनाको पाईलट प्रोजेक्ट अगमी ३ महिना भित्रै सक्ने योजना रहेको हो।
यो आयोजनामा अब वितरण प्रणाली निर्माणको काम बाँकी रहेको बताइएको छ। यस आयोजनाले सर्लाही र रौतहटका विपन्न र सुक्खा गाउँहरुमा सिंचाई सुविधा पुर्याउने छ। धेरै ट्युवेल गाडेर जमिन मुनिको पानीलाई सिँचाईको रुपमा प्रयोग गर्ने यो नेपालकै ठूलो सिंचाई योजना मध्ये एक हो ।
यो प्रोजेक्टको तयारीका लागि एसियाली विकास बैंक (एडीबी)ले प्रारम्भिक सहयोग गरिरहेको छ। यो परियोजनाको पाईलट प्रोजेक्ट निर्माणको लागि बैंकले ५ लाख अमेरिकी डलर बराबरको प्राविधिक सहायता दिएको छ ।
यो परियोजना अन्तरगत रौतहट र सर्लाहिमा ५०० ओटा ट्युवेल गाडिने छ । जसबाट ४० हजार हेक्टर जमिनमा सिंचाई सुविधा पुर्याउने लक्ष्य रहेको छ । यसबाट करिब २ लाख बढी किसानले प्रत्यक्ष रुपमा सिंचाई सुविधा पाउने भएका छन् ।
यो प्रविधिबाट ठूला सिंचाई आयोजना निर्माण गर्नु नेपालको लागि नयाँ भएकोले अध्ययन अझै बाँकी रहेको बताइएको छ।