बुटवल। बुटवलमा कराँते एकेडेमीका लागि प्रशिक्षण हलसहितको कभर्डहल निर्माण गरिएको छ। बुटवल उपमहानगरपालिकाले कराँतेका विभिन्न इभेन्ट्सको प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्नेगरी एकेडेमी स्थापना गरेको हो ।
बुटवल–१०, कालिकानगरमा रहेको कालिका कराते डो एकेडेमीको बिहीबार उपमहानगर प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । खेलकुदको विकास, सम्वर्द्धन र प्रवर्द्धनका लागि कभडहल निर्माण गरेको उनले बताए ।
कराँते डो एकेडेमी कभर्डहल भवन उपमहानगर, वडा स्तरीय र उपभोक्ता समेतको ४६ लाख ३९ हजार बराबरको लगानीमा निर्माण भएको हो । नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दबहादुर काउचाका अनुसार उपमहानगरले खेलकुदका पूर्वाधार विकासका लागि ४० स्थानमा बहुउद्देश्यीय खेलग्राम र खेलमैदान निर्माण गरिरहेको छ ।
क्रिकेट, फुटबल, कराँते, ब्याडमिन्टन, टेनिसलगायत विभिन्न आउटडोर र इन्डोर खेलहरूलाई लक्षित गरेर खेलग्राम निर्माण गरिएको उनले बताए ।