डोटी। डोटी जिल्लाको बडिकेदार गाउँपालिकामा अझै पनि विद्युत सेवा पुग्न सकेको छैन। बडिकेदार गाउँपालिकामा विद्युुत पुग्न नसक्दा यहाँका नागरिक सोलारकै उज्यालोको भर पर्ने गरेका छन् ।
वषौंदेखि बिजुली बाल्ने यहाँका बासिन्दाको सपना अझै पूरा हुन सकेको छैन । विद्युुत नहुँदा नेटवर्कको समस्या झन बढी छ । विद्युुत नभएकै कारण फोन गर्न पनि घाम कुर्नुपर्ने बाध्यता छ ।
विद्युुत नहुँदा यहाँका बासिन्दालाई दैनिकी चलाउनदेखि सञ्चार सेवा समेत अवरुद्ध हुँदै आएको छ।
सोलारबाटै सञ्चालित बडिकेदार गाउँपालिका वडा नम्बर– ५ अत्तरकाँडामा रहेको नेपाल टेलिकमको टावरले पनि घाम लागेपछि मात्रै काम गर्ने गर्छ । घाम नलागेको दिन नेटवर्कले काम नगर्दा सबैभन्दा बढी समस्या यहाँका नागरिकलाई पर्छ । कुटानी, पिसानीदेखि अन्य दैनिकी चलाउन पनि विद्युत अभावले उत्तिकै समस्या छ ।
विद्युत नहुँदा बडिकेदारका नागरिकलाई दैनिकी चलाउन मात्रै समस्या नभई प्रशासनिक काममा पनि निकै बाधा पुग्ने गरेको छ । लगातार पानी परे वा घाम नलागे काम नै ठप्प गर्नुपर्ने अवस्था रहेको स्थानीयको गुनासो छ।
विद्युुत नभएकै कारण ठुला–ठुला काममा निकै बाधा पुगेको गाउँपालिकाको दावी छ । विद्युुत बिस्तारका लागि वषौं अघि ठेक्का सम्झौता भए पनि ठेकेदारले विस्तार नगर्दा हालसम्म विद्युत नपुगेको गाउँपालिकाले जनाएको छ । ठेकेदारकै लापरवाहीका कारण विद्युुत नपुगेको भन्दै गाउँपालिकाले विद्युत कार्यालयलाई ध्यानाकर्षण गराएको बडिकेदार गाउँपालिकाले जनाएको छ।