म्याग्दी। बेनी नगरपालिकाको तीन वटा वडाको कार्यालय भवन निर्माण भएको छ। बेनी नगरपालिकाले वडा नम्बर ७ र ८ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरेको हो।
नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघि नै भवन थिए। पात्लेखेत र वाखेत गाउँको सिमानामा रु २० लाख खर्चेर हालै १० नम्बर वडाको तीन कोठे एक तले भवन निर्माण भएको छ। बेनीको सामुदायिक चोकमा गत वर्ष वडा नम्बर ७ को भवन बनेको थियो।
सात नम्बर वडाको भवनमा तला थप गर्न चालु आर्थिक वर्षमा विनियोजन भएको रु आठ लाख बजेट कार्यान्वयनका लागि ठेक्का सम्झौता भएको नगर प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए।
नगरपालिकाले क्याम्पसचोकको भलबाढी ब्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनर्निर्माण गरेर यसै महिनादेखि ८ नम्बर वडाको कार्यालय सञ्चालन गरेको वडाले जनाएको छ।
नगरपालिकाले गत वर्ष क्याम्पसचोकको भलबाढी ब्यवस्थापन गर्न रु एक करोड २१ लाखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो। क्याम्पसचोकका वासिन्दाले रु २१ लाख सङ्कलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए।