काठमाण्डौं। कालीकोटको शुभकालिका गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा शुभकालिकालाई औद्योगिक ग्राम बनाउन छनोट गरेको हो।
देशभरका चार नगरपालिका र दुई गाउँ पालिकालाई मन्त्रालयले औद्योगिक ग्राम बनाउन छनोट गरेको हो। मन्त्रालयका अनुसार औद्योगिक ग्रामका लागि छनोट गरिएका स्थानीय तहमा शुभकालिकासँगै धनकुटाको महालक्ष्मी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, अर्घाखाँचीको पाणिनी गाउँपालिका र डोटीको दिपायल सिलगढी नगरपालिका छन्।
छनोटमा परेका स्थानीय तहले औद्योगिक ग्राम पूर्वाधार विकासका लागि पहिलो किस्तामा ९२ लाख बजेट विनियोजन गरी सम्झौता गरेको बताइएको छ। औद्योगिक ग्रामभित्र प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, सामान प्रदर्शनी स्थल तथा बिक्री कक्ष, शौचालय तथा स्नानगृह, पार्किङ, क्यान्टिन र प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले रकम हस्तान्तरण गरेको जनाइएको छ।