कोरोनाको दोस्रो लहरको समयमा बन्द गरिएको नेपाल–भारत सीमानाकामा भारतीय नागरिकलाई आवातजावतमा अझै सहज गरिएको छैन । सरकारले केही दिनअघि मात्रै नेपाल–भारत सीमानाका खुल्ला गर्ने निर्णय गरेको भएतापनि कञ्चनपुरको गड्डाचौकी नाकाबाट नेपाल आउने भारतीय नागरिकलाई सहज भने अहिलेसम्म गरिएको छैन्।
इलाका प्रहरी कार्यालय गड्डा चौकीका प्रहरी नायब निरीक्षकका अनुसार दैनिक मजदुरीका लागि नेपाली भारत जाँदा परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको छ, तर नेपाल आउने भारतीयलाई भने आधार कार्ड र पछिल्लो ७२ घण्टामा कोरोना परीक्षण गरेको रिपोर्ट देखाएमात्रै आउन दिइएको छ।
उहाँका अनुसार पूर्णरुपमा अझै सहज भइसकेको नभएका कारणले भारतीय सवारी साधन भने अझै आउन रोक लगाइएको हो । माथिबाट आएको परिपत्रअनुसार आधार कार्ड र पिसिआर रिपोर्ट हेरेर मात्रै भारतीय नागरीकलाई आउन दिइन्छ ।
व्यावसायिक हिसाबले नाका सहज बनाउनुपर्ने कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षले बताउनु भयो। स्वास्थ्य परीक्षण अब कोरोनाका कारणले गर्न आवश्यक देखिँदैन उहाँले बताउनुभयो। पछिल्लो समय चाडपर्व नजिकिएसँगै विभिन्न भारतीय सहर स्वदेश फर्किने क्रम बढेको छ ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीले पछिल्लो केही दिनयता नाकाबाट दैनिक पाँच।छ सय नेपाली घर फर्किरहेको बताए।