दैलेख। कर्णालीमा पहिलोपटक उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुईवटा जलविद्युत् आयोजनाबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान गरिएको हो।
नौमुले गाउँपालिका–३ द्वारीमा निर्माण भएको ३.७५ मेगावाट क्षमताको द्वारी जलविद्युत् आयोजना र सोही गाउँपालिकाको वडा नं.४ मा निर्माण भएको ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजनाको सफल परीक्षण भएको छ ।
दैलेखबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जडान कर्णाली प्रदेशकै पहिलो बनेको छ। योसँगै अब दैलेख पूर्ण रुपमा लोडसेडिङ्ग मुक्त जिल्ला समेत बन्ने भएको छ ।
नेपाल विद्युत् प्राधिकरण दैलेख केन्द्रले कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत् अवरुद्ध हुने समस्या अब समाधान भएको जनाएको छ ।अहिले पावर हाउस निर्माण गरेको भारतीय कम्पनीबाट इन्जिनियरले आइसोलेसन मोड सञ्चालन गर्ने काम शुरु गरिएको छ ।
माघ १५ गतेदेखि नै दैलेख सदरमुकाम पूर्ण लोडसेडिङमुक्त बनेको छ। चैतभित्र दुल्लु क्षेत्र र असारसम्म जिल्ला नै लोडसेडिङमुक्त बनाउने अभियानको थालनी गरेको केन्द्रले जनाएको छ।