काठमाण्डौं। दोलखाको दक्षिणी क्षेत्र तामाकोशी गाउँपालिकाका नागरिकलाई लक्षित गरी १५ करोडको लगानीमा अस्पताल निर्माण हुने भएको छ। तामाकोशी–४ जामुनेमा सङ्घीय सरकार र स्थानीय सरकारको करिब १५ करोडको लगानीमा अस्पताल निर्माण हुन लागेको हो।
अस्पताल निर्माणपश्चात् पालिकाको मात्र नभई छिमेकी पालिकाका केही वडाका नागरिकले समेत सहजरूपमा स्वास्थ्य सेवा पाउने बताइएको छ। सङ्घीय सरकरको १५ करोडको लगानी रहने उक्त अस्पताल तत्काल १० शय्याको सञ्चालनमा आउने भएको छ। अस्पताल निर्मााणका लागि बोलपत्रमार्फत निर्माण कम्पनीलाई निर्माणको जिम्मा लगाई सकिएको छ।
गाउँमै सुविधा सम्पन्न अस्पताल निर्माण हुने भएपछि अस्पताल निर्माणका लागि तामाकोशी–४ मालुका नागरिकले करिब नौ रोपनी जग्गा अस्पताललाई निःशुल्क दान गरेका छन्। सामान्य बिरामी हुँदासमेत औषधि उपचारका लागि सदरमुकाम चरीकोट धाउनुपर्ने बाध्यता रहेको र गाउँमै अस्पताल निर्माण हुने भएपछि आफूहरुले अस्पतालको नाममा जग्गा दान गरेको र उक्त दान गरेको जग्गामा अस्पताल निर्माण गरी नागरिकको सेवा गरेको र स्वास्थ्य सेवा लिएको हेर्ने इच्छा रहेको स्थानीयवासीले बताएका छन्।
गाउँपालिकामा हाल सबै सात वडामा स्वास्थ्यचौकी सञ्चालनमा रहेका छन् भने सबै ठाउँमा २४ घण्टे बर्थिङ सेन्टर सञ्चालनमा रहेका छन्। स्वास्थ्यचौकी पायक नपर्ने पाँच स्थानमा पालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको छ।