दाङ। निर्माणको क्रममा रोकिएको लुम्बिनी प्रदेशको सभा भवनको निर्माण कार्य सुरु भएको छ। बन्दै र रोकिँदै आएको लुम्बिनी प्रदेश सभा भवन पुरानै डिजाइनमा बन्ने भएको हो।
प्रदेश सरकारले पुरानै ढाचा र बजेटमा प्रदेश सभा भवन निर्माणका लागि निर्देशन दिएपछि डेढ महिनादेखि रोकिएको प्रदेश सभा भवन निर्माणको काम बिहीबारदेखि पुनः सुरु भएको हो। नयाँ डिजाइनमा थप बजेट नदिएपछी पुरानै डिजाइन अनुसार रोकिएको काम सुरु भएको प्रदेश पूर्वाधार प्राधिकरणले जनाएको छ।
प्रदेश सभा भवनको वालमा भने चाइनिज इटा प्रयोग हुने भएको छ। यसअघि प्रदेशको पहिचान झल्कने भन्दै भवनको मुलद्वारमा आँखी झ्याल, छानामा रोल्पाली ढुंगा र वालमा चाइनिज इटा प्रयोग गर्ने गरी डिजाइन परिवर्तन गरिएको थियो। तर उक्त डिजाइनलाई प्रदेश सरकारले स्वीकृत नदिएपछि पुरानै डिजाइनमा काम सुरु भएको हो।
प्रदेश सभा भवन निर्माणका लागि संघीय सरकारले एक करोड बजेट विनियोजन गरेको जनाइएको छ। भवन निर्माणको रोकिएको काम डेढ महिनाभित्र सक्ने गरी सुरु गरिएको छ। निर्माणको जिम्मा वाइवी स्टोन बिल्ड्रर्स प्रालिले पाएको छ।
निर्माण व्यवसायीका अनुसार भवनको करिब ६५ प्रतिशत काम सम्पन्न भइसकेको छ। सुरुको सम्झौताअनुसार गएको आर्थिक वर्षमा नै सम्पन्न हुनुपर्ने प्रदेश सभाहल विभिन्न बहाना बनाउँदै निर्माणमा ढिला हुँदै आएको छ।
प्रदेशसभा भवनमा सभाहलसँगै भीआईपी कोठा, भोटिङ कोठा, मर्यादा पालकका लागि गरी १४ वटा कोठा बन्ने छन्। प्रदेश सभा भवन निर्माण भएपछि प्रदेश सरकारले स्थायी राजधानीबाट नै संसद् चलाउने बताउँदै आएको छ।