काठमाडौं। बागमती प्रदेशको अर्थ तथा विकास समिति सभापतिमा काठमाडौंका नारायण सिलवाल निर्वाचित भएका छन्। बागमती प्रदेश सभा अन्तर्गत् आज दुईवटा समितिको सभापति छनौट गरिएकामा अर्थ तथा विकास समितिमा सिलवाल निर्वाचित भएका हुन्।
निर्वाचन प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मात्र सहभागी भएपछि दुवै सभापतिमा एमाले विजयी भएको हो । प्रदेशसभा अन्तर्गत रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट गर्न निर्वाचन भएको थियो ।
शिक्षा समितिमा काठमाडौंकै केशवप्रसाद पोखरेल निर्वाचित भएका छन्। एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन ।
अर्थ र शिक्षा समितिको वैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरुलाई विजयी घोषणा गरिएको थियो । उनीहरुको सपथ ग्रहण समेत भइसकेको छ । वैशाखदेखि रिक्त रहेको अर्थसमितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो । अर्थ समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री बनेसँगै उक्त पद रिक्त रहेको थियो । यस्तै शिक्षासमितिका सभापति घनश्याम दाहाल हालको गठबन्धन सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त थियो ।