झापा। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले झापामा निर्माणाधीन होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन्। निरीक्षण पछि मुख्यमन्त्री राईले चाँडै होल्डिङ सेन्टर सञ्चालनमा ल्याउनुपर्ने बताएका हुन्।
कोरोना महामारी लक्षित गरी सरकारले मेचीनगर नगरपालिका–१४ ढुवागढीस्थित हँडिया खोलानजिकै खाली रहेको सरकारी जमिनमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर निर्माण शुरु गरेको हो।
तीन महिनामा बनिसक्नुपर्ने सेन्टर माघ सकिन लाग्दासमेत नसकिएपछि अवस्था बुझ्न मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, प्रदेश १ का मुख्यसचिव रामप्रसाद घिमिरे, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुली, झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखलगायतले स्थलगत निरीक्षण तथा अवलोकन गरेका हुन्।
सरकारले २८ करोड २६ लाख ८७ हजार ४ सय ६४ रूपैयाँको लागतमा बन्न लागेको होल्डिङ सेन्टर निर्माणको ठेक्का हनुमान कन्स्ट्रक्सन काठमाडौंले पाएको छ। नेपाली सेनाको रोहबरमा बन्दै गरेको सेन्टरमा १०।१२ वटा भवन बनेको छन्।
गत असार १७ गते निर्माण शुरु भएको सेन्टरको काम अन्तिम चरण पुगेको बताइएको छ।