कालीकोट। कालीकोटमा पहिलो पटक इँटा उद्योग सञ्चालनमा ल्याइएको छ। तिलागुफा नगरपालिका–९ चिल्खायाका चारजना स्थानीय युवाले जिल्लामै उद्योग सञ्चालन गरेका हुन्।
कर्णालीका हिमाली जिल्ला जुम्ला, मुगु, कालीकोट र दैलेखलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको यस उद्योगले बाहिरी जिल्लाबाट इँटा ल्याउनुपर्ने बाध्यतालाई हटाउने विश्वास गरिएको छ।
करिब ३० लाख रूपैयाँको लागतमा सो उद्योग सञ्चालनमा ल्याएको सञ्चालक टेकराज शाहीले बताए । अहिलेसम्म करिब एक लाख ५० हजार इँटा उत्पादन भइसकेको छ । अब बिक्रीका लागि मागअनुसार उत्पादन गर्ने तयारीमा रहेको उनको भनाइ छ।
छिटो, छरितो, आकर्षक र कम लगानीमा घर निर्माण गर्न चाहनेका लागि यो इँटा निकै उपयोगी रहेको उद्योग सञ्चालकले बताए। रातो इँटाको लागत प्रतिइँटा रु २४–२५ पर्ने बताइएको छ । सो उद्योगमा २७ जनाले रोजगारी पाएका छन् ।
तराईका जिल्लाबाट ढुवानी गरी ल्याउँदा महँगो पर्ने भएकाले यहाँ उत्पादित इँटा प्रयोग गर्दा सहज र सस्तो हुने उद्योग वाणिज्य सङ्घ कालीकोटले जनाएको छ।