काठमाडौं। अर्घाखाँचीको सन्धिखर्कमा अत्याधुनिक स्तरको चिस्यान केन्द्र निर्माण गरिने भएको छ। कृषकले उत्पादन गरेको फलफुल तथा तरकारी सुरक्षित भण्डारण गर्न सन्धिखर्क नगरपालिकाले वडा नं १ को हटारीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो।
उक्त चिस्यान केन्द्र रु सात करोड ७९ लाखको लागतमा निर्माण गर्न लागिएको बताइएको छ। चिस्यान केन्द्रको अभावमा तरकारी तथा फलफुल कृषकले सस्तो मूल्यमा बिक्री गर्न बाध्य थिए। कृषकले उत्पादन गरेको तरकारी तथा फलफुल चिस्यान केन्द्रमा राखेर जुनसुकै समयमा पनि बिक्री गरी मनग्य आम्दानी गर्न सकिने विश्वास गरिएको छ।
चिस्यान केन्द्रको क्षमता १५० मेट्रिक टन रहेको छ। आगामी वर्ष २०७९ चैत मसान्तसम्म काम सम्पन्न गर्ने गरी लुम्बिनी अर्घाखाँची जेभीसँग निर्माणको सम्झौता भएको हो। चिस्यान केन्द्र स्थापना भएर सञ्चालनमाा आएपछि कृषक मात्र होइन उपभोक्ता समेत लाभान्वित हुने आशा गरिएको छ।