काठमाडौं। चन्द्रागिरी नगरपालिकाको प्रशासनिक भवन निर्माण पूरा भएको छ। चन्द्रागिरी– १२ स्थित गुर्जुधारामा करिव सात रोपनी जमिनमा प्रशासकीय भवन निर्माण गरिएको हो।
नगरपालिकाले यही माघ मसान्तभित्र आफ्नै नयाँ भवनमा सर्ने तयारी गरेको छ । मौलिक एवं सास्कृतिक कलात्मक आँखि झ्याल संरचनाको ६ तलाको यो भवन २५ करोड लागतमा सम्पन्न भएको छ। तीन रोपनीमा प्रशासनिक भवन र चार रोपनीमा बाह्य संचना बनिरहेको छ ।
नगरप्रमुख घनश्याम गिरी माघ मसान्तभित्र मी नयाँ भवन सर्ने र त्यसअघि भवन उद्घाटनको तयारी भइरहेको जानकारी दिए । बाल, जेष्ठ नागरिक र अपाङगता मैत्री भवनको भित्री संरचना कोठा, हल तयार गर्ने, छुट्याउने, रङ्गरोगन गर्ने तथा वाह्य संरचनामा बगैँचा बनाउने काम भने धमाधम जारी रहेको प्रमुख गिरीले जानकारी दिए ।
समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्य र नगर प्रमुख गिरीले विसं २०७६ मङसिर ११ गते संयुक्त रुपमा सो भवनको शिलान्यास गरेका थिए । रसुवा कन्स्ट्रक्सन कम्पनी प्रालिले ठेक्का पाएको सो भवन सम्झौता अनुसार विसं २०७८ बैशाखभित्रमा नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने थियो तर कोभिड–१९ को महामारीका कारण ढिलाइ भएको भएको जनाइएको छ ।