नेपालगञ्ज। नेपालगञ्जमा ठूलो लगानीमा होल्डिङ सेन्टरको निर्माणको काम ८५ प्रतिशत पूरा भएको छ। सरकारले सीमावर्ती भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई लक्षित गरी नेपालगञ्जमा निर्माण गरिएको होल्डिङ सेन्टरको काम ८५ प्रतिशत पूरा भएको हो।
कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिम र यसबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिलाई ध्यानमा राखेर सरकारले सीमा नाकामा होल्डिङ सेन्टर बनाएको हो।
नेपालगञ्ज उपमहानगरपालिका–१४ स्थित ४ बिघा ८ धुर क्षेत्रफलमा २९ करोड ३८ लाख २० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको सो होल्डिङ सेन्टर एकहजार क्षमताको रहेको छ । नेपाली सेनाको प्रत्यक्ष रेखदेख र संरक्षणमा निर्माण भइरहेको छ सो होल्डिङ सेन्टरमा जमुनाह नाका हुँदै भारतबाट आउने कोरोना भाइरस सङ्क्रमितलाई राख्ने बताइएको छ ।
नेपाल–भारत जमुनाहा नाकाबाट प्रवेश गर्ने यात्रुलाई गन्तव्यमा पुर्याउने, स्थानीयस्तरमा भइरहेको सङ्क्रमणलाई रोक्ने, आइसोलेसन र अस्थायी अस्पतालको रुपमा प्रयोग गर्ने उद्देश्यले होल्डिङ सेन्टर निर्माण गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए।