ललितपुर। ललितपुर महानगरपालिकामा थप ११ सय ‘स्मार्ट स्ट्रिट लाइट’ (सडक बत्ती) जडान गरिने भएको छ। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक सहयोग र महनगरपालिकाको लगानीमा नगर क्षेत्रमा दोस्रो चरणमा सडक बत्ती जडान गर्न लागिएको हो।
दोस्रो चरणमा बुङ्मती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धीलगायतका क्षेत्रमा नौ करोड लागतमा सडक बत्ती जडान गरिने महानगरले जनाएको छ।
यसअघि ललितपुरको मुख्य शहरी क्षेत्रमा जडान भएका ६६९ वटा बत्तीले रातको समयमा शहरमा प्रभावकारी भएकाले अन्य क्षेत्रमा पनि जडानको काम अघि बढाउन लागिएको महानगरले जनाएको छ।
महानगरका अनुसार तेस्रो चरणमा चक्रपथको ललितपुरभित्र पर्ने ७.९ किलोमिटर खण्डमा पनि बत्ती जोड्न टेन्डर गर्ने र त्यसका लागि पूर्वतयारीको काम भइरहेको छ।
रातको समयमा सर्वसाधारणको आवतजावत सहज र सुरक्षित बनाउन स्मार्ट लाइट जडान गर्न लागिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताए ।