काठमाडौं । लमजुङमा निर्माणाधीन १२ मेगावाटको दोर्दी–१ जलविद्युत आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दोर्दी खोला जलविद्युत कम्पनीले निर्माण गरिरहेको आयोजनाको काम ९८ प्रतिशत पूरा भएको हो।
हाल आयोजनामा जडान भएका हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरणको परीक्षण गर्न शुरु गरिएको छ।
कम्पनीका अनुसार आयोजनाको बाँध, पेनस्टक पाइप, विद्युतगृहलगायत सबै संरचनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाको संरचना तथा उपकरणको परीक्षण सकिएपछि विद्युत उत्पादन थालिनेछ ।
गत साउनदेखि विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजनामा कोरोना महामारी र गत असारमा आएको बाढी पहिरोले क्षति पुग्दा उत्पादन तालिका पछि सर्दै आएको थियो।
आयोजनाबाट उत्पादन हुने विद्युत दोर्दी कोरिडोरको किर्तिपुर सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक ३.५ किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको छ । आयोजना सम्पन्न गरी विद्युत उत्पादन सुरु गर्न २ अर्ब २९ करोड रुपैयाँ खर्च हुने अनुमान छ ।