काठमाडौं। उदयपुरको चौदण्डीगढी नगरपालिकामा अत्याधुनिक सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण सम्पन्न भएको छ। चौदण्डीगढी नगरपालिका–७ स्थित साकेला चोकमा नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न नगर प्रशासनिक भवन निर्माण सम्पन्न भएको हो।
उक्त भवनको परराष्ट्र मन्त्री डा. नारायण खड्काले शनिवार उद्घाटन गरेका हुन्। जिल्लाकै पहिलो अत्याधुनिक सुविधासम्पन्न भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने विश्वास गरिएको छ। करिब १० कट्टा क्षेत्रफलमा निर्माण गरिएको प्रशासनिक भवन साँढे तीन तले रहेको छ। उक्त भवन निर्माणमा करिब ५ करोड ९८ लाख लागत लागेको बताइएको छ।
भवनमा एक सभाहल शौचालयसहित ४३ वटा कोठा रहेको छ। २०७७ साल जेठ मसान्तमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सुरु गरेको भवन निर्धारित समयमै सम्पन्न भएको बताइएको छ। निर्माण कम्पनी वल्डवाईज रामसागर जोइन्ट भेन्जर, काठमाडौंले उक्त भवनको निर्माण गरेको हो।