काठमाण्डौं। बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ। अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण गर्न सुरु गरिएको हो।
अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको बताइएको छ। विसं २०७७ फागुन २४ गते २७ करोड ८४ लाखमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको थियो।
बसपार्क निर्माणका लागि कूल बजेटको ६० प्रतिशत नगर विकास कोषबाट र ४० प्रतिशत कोहलपुर नगरपालिबाट विनियोजन गरिएको छ। पाँच बिघा १६ कठ्ठामा निर्माण भइरहेको उक्त बसपार्कको खड्का–दया सगुन निर्माण सेवा कन्स्ट्रक्सनले दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी निर्माणको जिम्मा पाएको छ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुर कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारका रूपमा चिनिन्छ। बसपार्क बालमैत्री, सूचनामैत्री, प्रविधिमैत्री, खानेपानी, ढल निकास, भूमिगत विद्युतीकरण, रिफ्रेसमेन्ट सेन्टर, सपिङ कम्प्लेक्ससहितको हुने कोहलपुर नगरपालिकाले जनाएको छ।