काठमाडौं। मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले निर्माणाधीन बागमती प्रदेशसभाको सभाहलको अनुगमन गरेका छन्। मुख्यमन्त्री पाण्डेले आइतबार प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अशोक कुमार शाह, मन्त्रालय मातहतको शहरी विकास तथा भवन कार्यालय हेटौंडाका इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधि र सरोकारवाला निकायका प्रतिनिधिसहित सभाहलको स्थलगत अनुगमन गरेका हुन्।
अनुगमनका क्रममा मुख्यमन्त्री पाण्डेले विगत लामो समयदेखि अलपत्र अवस्थामा छोडिएको भन्दै निर्माण कम्पनी तथा मन्त्रालय मातहतका कार्यालयका प्रतिनिधिहरुसहित समयसीमा भित्रै काम सम्पन्न गर्न दबाब पुगोस भन्ने उद्देश्यले आफूले स्थलगत अनुगमन गरेको बताए।
मुुख्यमन्त्री पाण्डेले आगामी वैशाख १ गतेभित्र काम सम्पन्न गर्न पनि निर्माण कम्पनीलाई निर्देशन समेत दिएका छन् । उनले भने, ‘यो भवनको बारेमा सबै जनताले जानकारी पाउनुपर्छ । यो भवन निर्माणमा सबै जनताको लगानी रहेको छ । धेरै समयदेखि यो भवन अलपत्र अवस्थामा देखेको छु । यसबारे मैले प्रदेशसभाका सचिवमार्फत जानकारी लिएर भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवलाई यसको काम समयमा सक्नपनि निर्देशन दिइसकेको छु । हामी सबैको लगानी परिसकेको छ । त्यसैले यसलाई छिटै सम्पन्न गरौं । निर्माण कम्पनीका साथीहरुले पनि काम सकेपछि मात्र भुक्तानी पाउने भएकाले त्यसतर्फ केन्द्रीत हुनुपर्छ।’
२०७७ कात्तिकमा १८ महिनामा काम सक्नेगरी ४ करोड ९४ लाख रुपैयाँमा निर्माण कार्य गर्न अर्घाखाँची सगुन पारामाउण्ट जेभीसँग ठेक्का सम्झौता भएको थियो।उक्त भवनको निर्माण कार्य आगामी २०७९ बैशाख २१ गते भित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।
भवनको ठेक्का सम्झौता भएको समयदेखि हालसम्म करिव १५ महिनाको अवधिमा सो सभाहलको २५ प्रतिशत मात्र काम भएको छ ।