काठमाडौं। पाँचखाल नगरपालिकामा विकास गरिने ‘स्मार्ट सिटी’को अध्ययन अमेरिकन कम्पनीले गर्ने भएको छ। त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँ स्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो।
निफ्राले काभ्रेपलाञ्चोकको पाँचखाल नगरसँग गत साउन १२ गते नगरलाई ‘स्मार्ट सिटी’ बनाउने सहकार्यमा सात शर्तसहितको सम्झौता गरेको थियो। सार्वजनिक–निजी साझेदारीमा (सवल, सक्षम, समावेशी र समृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो।
करिब चार हजार ५०० रोपनी क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब रु दुई अर्ब खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। कूल क्षेत्रफलमध्ये ६५० रोपनी जमिन नगरले आफ्नो स्वामित्वबाट उपलब्ध गराउनेछ। बैंकका कार्यकारी अधिकृत खतिवडाका अनुसार निफ्राले आफ्नो सञ्चालक समितिको स्वीकृतिमा जेएलएल संस्थालाई बजार अध्ययनको जिम्मा दिने भएको छ।
निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ। जेएलएलले करिब दुई महिना अध्ययन गर्नेछ। निफ्राले स्मार्ट सिटीको विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय जनता तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ। ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काममा सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले जानकारी दिए।