सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भएको छ। अस्पताल निर्माण पछी सामान्य स्वास्थ्य सेवा लिन लामो दूरी पार गरेर चौतारा, मेलम्ची या धुलिखेल, काठमाडौं पुग्नुपर्ने बाध्यता हटेको हो।
विगतमा सामान्य रगत परीक्षणदेखि एक्सरे गर्न अन्यन्त्र जानुपर्ने बाध्यता स्थानीयमा थियो। तर, अहिले गाउँपालिकाको केन्द्र नवलपुरमा १५ शैय्याको अस्पताल बनेपछि अब त्यो बाध्यता हटेको भन्दै स्थानीय खुसि भएका छन्।
गाउँपालिकाको प्रशासकीय भवनसँगै रहेको प्राथमिक अस्पताल बागमती प्रदेश सरकारको सहयोगमा बनेको हो। नवलपुर बजारमै ३ रोपनी क्षेत्रफलमा १५ शैय्याको नवलपुर प्राथमिक अस्पताल निमार्ण सम्पन्न भई सेवा दिन सुरु गरेको भएको छ।
आइतबार बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सो अस्पतालको उद्घाटन गरेकाहन्। अस्पतालमा दुई एमबीबीएस डाक्टरसहित चिकित्सक, मेडिकल, एक्स रे, ल्याब, इमरजेन्सी वार्ड, अपरेटिङ, माइनर, इसीजीजस्ता सबै अत्यावश्यक प्राथमिक सेवा सञ्चालनमा ल्याइएको इन्द्रावती गाउँपालिकाले जनाएको छ। ३५ कोठा रहेको अस्पताल भवनमा ३० जना बिरामी राख्ने क्षमता छ।