काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफूमाथि बागदरबार मास्न लागेको भन्ने आरोप लगाएको बताएका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर २७ को वडा भवन शिलान्यास गर्दै मेयर शाक्यले आफूमाथि बागदरबार मास्न लागेको आरोप आएको गुनासो गरेका हुन्।
उनले हरि भवनलाई बागदरवार भनेर मुद्दा हाल्ने काम गरी काममा अवरोध गरेको समेत गुनासो गरे। मेयर शाक्यले अहिलेको हरिभवनलाई बागदरबार हो भनेर प्रमाणित गरेर देखाउन पनि उनले चुनौती दिएका छन्।
उनले भने, ‘हरि भवनलाई बागदरबार भन्नु भनेको मरेको मान्छे जिउँदो छ भने जस्तै हो । कसैको अनावश्यक चरित्र हत्या गरेर, आरोप लगाएर आफ्नो प्रतिष्ठा उच्चो हुँदैन। अरुलाई सम्मान गर्न सक्यो भने मात्रै आफ्नो पनि प्रतिष्ठा बढ्छ।’
मेयर शाक्यले बागदरबार बेच्ने र किन्ने दुवै जिउँदै हुँदाहुँदै पनि मुद्दाचाहिं भीमसेन थापाकालिन बागदरबार भत्काउने मेयरलाई लागेको बताए।
उनले भने, ‘बागदरवार एक जनाले बेचिसक्यो अर्कोले किनेर प्लटिङ गरेर बेचिसक्यो । बागदरबार बेच्ने सुशीलशम्सेर जबरा अहिले जिउँदै हुनुहुन्छ । बागदरबार किनेर प्लटिङ गरेर बेच्ने दिलविकास राजभण्डारी पनि जिउँदै हुनुहुन्छ, तर मुद्दाचाहिं भीमसेन थापाकालिन बागदरबार भत्काउने मेयरलाई कारबाही गरिपाउँ भनेर हालिएको छ ।’